Add parallel Print Page Options

दुष्ट राजाहरू विरूद्ध न्याय

22 परमप्रभुले भन्नुभयो “यर्मिया, राजाको महलमा जाऊ। यहूदाका राजा कहाँ जाऊ र त्यहाँ यो सन्देशको प्रचार गर ‘परमप्रभुबाट आएको यो सन्देश सुन, दाऊदको सिंहासनमा बस्ने हे यहूदाका राजा, तिम्रा अधिकारीहरू अनि यी ढोकाहरूबाट पस्ने मानिसहरू। परमप्रभु भन्नुहुन्छ निष्पक्ष र धार्मिक हौ। अत्याचारमा पारेकाहरूलाई अत्याचारीबाट रक्षा गर। विदेशमा जन्मेका नागरिकहरू टुहुरा-टुहुरी अथवा विधवाहरूमाथि नराम्रो नगर। निर्दोष मानिसहरूलाई नमार। यदि तिमीहरूले आज्ञा पालन गर्यौ भने, राजाहरू जो दाऊदको सिंहासनमाथि बस्दछन् अधिकारीहरू सहित रथहरू र घोडाहरूमाथि बसी यी प्रवेशद्वारहरूबाट बस्नेछन्। यदि तिमीहरूले ती आज्ञाहरू पालन गरेनौ भने, परमप्रभु भन्नुहुन्छ म आफ्नै नाउँमा शपथ लिन्छु म यो राजमहल नष्ट पार्नेछु।’”

यसैले परमप्रभु यहूदाको राजाको राजमहलको विषयमा भन्नुहुन्छ:

“तँ ता मेरो निम्ति गिलादको जङ्गल
    र लबानोनको पहाड जस्तै छस्।
तर म तँलाई मरुभूमिमा परिणत गरिदिन्छु।
    कोही बसो-बास गर्ने नभएको शहर झैं तँलाई म उजाड बनाइदिन्छु।
म राजदरबार नष्ट गर्नलाई
    हतियार सहित मानिस पठाउने छु।
ती नष्टगर्ने हरूले तेरा देवदारको रूखहरू काट्नेछन्
    र आगोमा फ्याँकनेछन्।

“धेरै राज्यका मानिसहरू यही शहर भएर जानेछन्। तिनीहरूले एकार्कामा सोध्नेछन्, ‘किन परमप्रभुले त्यस्तो डरलाग्दो कुरा यरूशलेम प्रति गर्नुभयो? यरूशलेम त्यस्तो महान शहर थियो।’ त्यो प्रश्नको उत्तर यो हुनेछ ‘परमेश्वरले यरूशलेम नष्ट पार्नुभयो किनभने तिनीहरूले तिनीहरूका परमेश्वर परमप्रभुसित गरेको करार त्यागे। तिनीहरूले अरू देवताहरूलाई पूजा गरे अनि तिनीहरूको सेवा गरे।’”

राजा यहोआहाजको विरूद्ध न्याय

10 मरेको राजाको लागि नरूनु।
    उसको लागि विलाप नगर्नु,
बरू त्यो राजाको लागि रूनु
    जसले यो ठाउँ नै छोड्न बाध्य भएको छ।
उसको निम्ति रूनु किनभने ऊ कहिल्यै फर्की आउने छैन्।
    ऊ आफ्नो स्वदेश फेरि देख्ने छैन।

11 यही कुरा शल्लूम (यहोआहाज) योशियाहको छोराको विषयमा परमप्रभु भन्नुहुन्छ। शल्लूम योशियाह राजाको मृत्यु पछि यहूदाका राजा भए। “यहोआहाज यरूशलेमबाट निस्की टाढा गए। उनी यरूशलेम फेरि कहिल्यै फर्की आउँदैनन्। 12 यहोआहाज त्यो ठाउँमा मर्ने छ जहाँ मिश्रावासीले उनलाई लगेर गए। उनले यो देश फेरि देख्ने छैनन्।”

यहोयाकीम राजाको विरूद्ध न्याय

13 “हाय! त्यसलाई जसले आफ्नो मानिसहरूलाई
    तिनीहरूको श्रमको ज्याला नदिई
बे-ईमान्दरीले महल बनायो,
    अझ ठगेर तला थप्यो।

14 “उसले भन्छ,
    ‘आफ्नो लागि म एउटा ठूलो महल बनाउनेछु।
मेरो माथिल्लो तलामा ठूल-ठूला कोठाहरू हुनेछन्।’
    उसले देवदारूका पल्लाले झ्यालहरू बनाउँछ रातो रंग लाउँछ।

15 “देवदारूले बनाएको तिम्रो विशाल महलले
    तिमीलाई महान राजा बनाउदैन।
तिम्रा पिता खान र पिउनमा सन्तुष्ट थिए।
    उनले के ठीक र निष्पक्ष थियो त्यही गरे।
    यसर्थ प्रत्येक कुरो नै तिनको राम्रै भयो।
16 तिनले गरीब
    र असाहय मानिसहरूलाई मद्दत गरे।
यसकारण प्रत्येक कुरा
    तिनको लागि राम्रै भयो।
‘मलाई चिन्नु नै यसको अर्थ हो।’
    परमप्रभुले भन्नुभयो।

17 “तिम्रो आँखाहरूले तिमीलाई के लाभदायक छ त्यो मात्र देख्छ।
तिमी निर्दोष मानिसहरूलाई मार्न,
    मानिसहरूलाई चोट पुर्याउन र चक्नाचूर पार्न मात्र बिचार गर्छौ।”

18 यसर्थ परमप्रभुले योशियाहका छोरो,
    राजा यहोयाकीमको विषयमा भन्नुहुन्छु,
“यहोयाकीमको लागि यहूदाका मानिसहरू रूने छैनन्,
    ‘हाय मेरो दाज्यू! हाय मेरी बहिनी!
म यहोयाकीमको लागि अत्यन्तै दु:खीतछु भनी,
    तिनीहरू कसैले पनि परस्परमा कुरा गर्ने छैनन्।
यहूदाका मानिसहरू यहोयाकीमको लागि रूने छैनन्।
    तिनीहरूले उनको विषयमा भन्ने छैनन्,
    ‘हाय मेरा मालिक! हाय, मेरा महाराज!
    तिम्रो मृत्युमा म अत्यन्तै दु:खी छु।’
19 यरूशलेमका मानिसहरूले यहोयाकीमलाई गधालाई जस्तै दफ्नाउनेछन्।
    तिमीहरूले उसको टाउको र शरीर तान्नेछन्,
    अनि यरूशलेमको मूल-ढोकाको बाहिर फ्याँक्नेछन्।

20 “यहूदा, लबानोनको पर्वतमाथि जाऊ र जोडले चिच्याऊ।
    बाशान क्षेत्रमा जोडले कराऊ।
अबारीमको पर्वतहरूमा चिच्याऊ,
    किनभने तिम्रो ‘प्रेमीहरूलाई’ नष्ट पारिनेछ।

21 “हे यहूदा, तिमीले आफैं सुरक्षित विचार गर्यौ।
    तर मैले तिमीलाई सावधानी रहन चेताउनी दिएँ।
तर तिमीले भन्यौ, ‘म ध्यान दिँदिन।’
    तिमीले त्यही जीवन शैली अप्नायौ,
जुन तिम्रो युवावस्थालमा थियो।
    तिम्रो युवावस्थालम देखिनै तिमीले मलाई मान्न अस्वीकार गर्यौ।
22 हे यहूदा! तिम्रा भेंडा़ गोठालाहरूलाई बतासले उडाई लानेछ।
    तिम्रा प्रेमीहरू कैदी बनिनेछन्।
तिमीलाई अपमान गरिनेछ र पक्कै पनि तिम्रा दोषपूर्ण कर्महरूले,
    तिमीलाई लज्जित पार्नेछ।

23 “हे लबानोनका बासिन्दा
    जो देवदारूहरूको माझमा बास गर्छन्,
जब तिमीले व्यथा पाउनेछौ तिमी चिच्याउनेछौ।
    प्रसव पीडामा परेकी स्त्री झैं व्यथाले तिमी लडीबुडी गर्नेछौ।”

यहोयाकीन राजाको विरूद्ध न्याय

24 “जस्तो म निश्चित रूपमा बस्छु,” यो परमप्रभुको सन्देश हो, “म यस्तो तिम्रो लागि गर्नेछु। यहोयाकीमको छोरो यहूदाको राजा, यहोयाकीन यदि तिमी मेरो दाहिने हातको छाप-औठी हुँदो हौ त म तिमीहरूलाई थुतेर फ्याँक्ने थिएँ। 25 यहोयाकीन, म तिमीलाई बाबेलका राजा नबूकदनेस्सरलाई र बाबेलवासीहरूलाई सुम्पिनेछु। यी ती मानिसहरू नै हुन जसले तिम्रो प्राण खोजिरहेकाछन् र जोसित तिमी भयभित छौ। 26 म तिमी र तिम्रो आमालाई अर्को देशमा फ्याँकिदिने छु जहाँ तिमीहरू दुवै जन्मेका थिएनौ। तिमी र तिम्रो आमा त्यो देशमा मर्नेछौ। 27 तिनीहरू आफ्नो भूमिमा फर्किने इच्छा गर्छन् तर तिनीहरूलाई अनुमति दिइनेछैन।”

28 के कोन्याह[a] कसैको आफलको फुटेको भाँडा जस्तो हो?
    जसलाई कसैले मन पराउँदैन।
किन यहोयाकीन र उसको नानीहरू फ्याँकिए?
    किन तिनीहरू नजानेको देशमा फ्याँकिए?
29 ए देश, ए देश!
    परमप्रभुको सन्देश ध्यान दिएर सुन्।
30 परमेश्वर भन्नुहुन्छ, “यहोयाकीनको बारेमा लेख,
    ‘ऊ एकजना मानिस हो जसको कुनै नानीहरू छैन।
यहोयाकीन आफ्नो जीवन कालमा सफल हुनेछैन।
    अनि उसको एउटै पनि सन्तान दाऊदको सिंहासनमा बस्ने छैन।
    कुनै पनि उसको सन्तानले यहूदामा शासन गर्ने छैन्।’”

Footnotes

  1. 22:28 कोन्याह यहोयाकीनलाई कोन्याह पनि भनिन्छ।