Add parallel Print Page Options

मोआबको बारेमा सन्देश

48 यो सन्देश मोआब देशसित सम्बन्धित छ। सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ:

“नबो पर्वतको दुर्भाग्य सामुन्ने छ।
    यो नष्ट हुनेछ।
किर्यातैमको शहर लज्जित हुनेछ
    अनि कब्जामा पर्नेछ।
ती बलिया किल्लाहरू लज्जित
    तथा हतोत्साही हुनेछन्।
मोआबलाई फेरि प्रशंसा गरिने छैन।
    हेशबोनमा मानिसहरूले मोआबको पराजयको युक्ति रचे।
तिनीहरूले भने, ‘आऊ, हामी मिलेर त्यस ठाउँलाई नष्ट पारौं,
    ताकि अब उसो एउटा जाति नरहोस्।’
हे मदमेन, तिमीलाई पनि चूपचाप पारिन्छ।
    तरवारले तिम्रो खेदो गर्नेछ।
होरोनैमबाट आएको चिच्याहट सुन।
    तिनीहरू लुटपाट र विध्वंसले गर्दा चिच्याई रहेकाछन्।
मोआब नष्ट हुने नै छ।
    उसका स-साना बालकहरू गुहार माग्दै रूने छन्।
मोआबका मानिसहरू रूँदै
    लूहीतको उकालो बाटो जान्छन्।
होरोनैम तिर जाने ओह्रालो बाटोमा
    नष्टको परितापमा क्रन्दन सुनिन्छ।
भाग जाऊ! भाग आफ्नो प्राण बचाऊ,
    मरुभूमिको जङ्गलमा हुने पोथ्रा झैं बन।

“तिमीहरूले आफ्नो काम र धनमा भरोसा गर्यौ।
    यसकारण तिमीहरू कैदमा पर्यौ।
उसका अधिकारीहरू र पूजाहारीहरूसितै,
    कमोशलाई देश निष्कासन गरियो।
प्रत्येक शहर नष्ट पारिनेछ
    अनि कुनै एउटा शहर पनि बाँकी राखिनेछैन।
हरेक खाल्टाहरू समतल पारिनेछ,
    समतल भुमी नष्ट हुनेछ।
परमप्रभुले भन्नु भएको कुरा पुरा हुनेछ।
    अनि समतल देश नष्ट पारिनेछ।
मोआबमा खेत बारि भरि नून छरिदेऊ
    किनभने यो निश्चय नष्ट हुनेछ
अनि बासिन्दा कोही नभएर
    मोआब शून्य मरुभूमि हुनेछ।
10 श्रापित होस् त्यो मानिस जसले परमप्रभुको काम गर्न विलम्ब गरिरहेछ।
    धिक्कार छ त्यस मानिसलाई जसले ती मानिसहरू मार्न आफ्नो तरवार चलाँउदैन।

11 “मोआबले अनिष्ट कहिल्यै देखेको छैन।
    मोआब ढुङ्ग्रोमा रहेको र एउटा भाँडादेखि
अर्को भाँडामा नसारिएको दाखरस जस्तै छ।
    ऊ कैदी भएर कहिले पनि बसेको छैन,
यसकारण ऊ पहिल्यै जस्तै ताजा नै छ,
    अनि उसको स्वादमा बद्ली आएको छैन।”
12 तब परमप्रभु भन्नुहुन्छ,
“हेर, समय आइरहेछ जब म,
    उसलाई तिम्रो भाँडाबाट खन्याउँन,
अनि खाली भाँडाहरू टुक्रा-टुक्रामा
    परिणत गराउन मानिसहरू पठाउनेछु।”

13 तब, मोआबका मानिसहरू कमोशले गर्दा लज्जित हुनेछन्। जसरी इस्राएलका मानिसहरूले झूटा देवता बेतेललाई विश्वास गरेका थिए। त्यही झूटा देवताले मद्दत नगर्दा तिनीहरू लज्जित भए।

14 “तिमीहरू कसरी भन्न सक्छौ, ‘हामी बलिया सिपाहीहरू हौं
    अथवा हामी वीर योद्धाहरू हौं।’
15 शत्रुहरूले मोआबमाथि आक्रमण गर्नेछन्,
    र शहरभित्र पसेर तिनीहरूलाई ध्वंस पार्नेछन्।
उसका खास जवान मानिसहरू हत्या गरेर मारिनेछन्।”
यो सन्देश महाराजाको हो,
    उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।
16 “मोआबको अन्त नजिकै छ।
    मोआबलाई चाँडै ध्वंस पारिनेछ।
17 मोआबका वरिपरि बस्ने मानिसहरू
    तिमीहरू सबैले त्यो देशको लागि विलाप गर्नुपर्नेछ।
    तिमीहरू जान्दछौ मोआब कति प्रसिद्ध छ।
यसर्थ त्यसको लागि रूनु
    ‘मोआबको शक्तिशाली अनि महिमामय राजदण्ड पूर्णरूपले टुक्रियो।’

18 “तिमीहरू दीबोनमा बसिरहेका छौ।
    आफ्नो सम्मानपूर्ण ठाउँबाट झरेर आऊ
सुखा जमीनमा बस,
    किनभने विनाश आइरहेछ,
अनि उसले तिमीहरूको दरिलो शहरहरू भत्काइदिनेछ।

19 “हे अरोएरमा बस्ने मानिसहरू हो।
    बाटोको किनारमा उभ र हेर,
पुरूष मानिसहरू भागिरहेका हेर,
    स्त्री मानिसहरू भागिरहेका हेर,
    तिनीहरूलाई के भयो सोध।

20 “मोआब धराशायी भएको छ
    लाजले पूर्ण भएको छ।
विलौना गर अनि रोऊ।
    अर्नोन नदीमा गएर घोषणा गर कि मोआब ध्वंस भयो।
21 समतल देशमाथि न्याय हुने समय आएको छ।
होलोन, यहसा र मेपात शहरहरूमा
    न्याय गरिने समय आएकोछ।
22 दीबोन, नबो बेत-दिबलातैम शहरहरूमा
    न्याय गरिने समय आएकोछ।
23 किर्यातैम, बेतगामूल, बेत-मोन शहरहरूमा
    न्याय गरिने समय आएकोछ।
24 करियोत र बोज्रा र छेउ,
    टाढाका अनि नजिकका
मोआब सबै शहरहरूमा
    न्याय गरिने समय आएकोछ।
25 मोआबको सिंग काटियो
    अनि मोआबको पाखुरा भाँचिएको छ।”
परमप्रभुले यो कुरा भन्नुभयो।

26 “मोआबले सम्झिएको थियो कि ऊ परमप्रभु भन्दा महान् हो।
अत मोआबलाई पागल हुन्जेलसम्म सजाय देऊ।
    मोआब लडेर आफ्नै वान्तामा लटपटिने छ।
मोआब मानिसहरूको हाँसोको पात्र हुनेछ।

27 “मोआब तिमीले इस्राएलको हाँसो उडायौ
    इस्राएललाई एउटा चोरका समूहले पक्रे।
प्रत्येक पल्ट तिमीहरूले इस्राएलको बारेमा बोल्दा आफ्नो टाउको हल्लायौ।
    अनि इस्राएलभन्दा असल छु भनी बाहना गर्यौ।
28 मोआबका मानिसहरू हो आफ्नो शहरहरू छोड।
    जाऊ ढुङ्गाहरूमा बस,
ढुकुर जस्तो होऊ,
    जसले ओढारको मुखमा आफ्नो गुँड बनाउँछ।”

29 “हामीले मोआबको घमण्ड सुनेकाछौं,
    ऊ अत्यन्तै घमण्डी थियो।
र उसले आफैं ठूलो हुँ भन्ने ठान्थ्यो।
    ऊ आफैं गर्वाम्बित थियो।
    ऊ अतिनै घमण्डी थियो।”

30 परमप्रभु भन्नुहुन्छ, “मोआब कति रीसाह छ सो म जान्दछु,
    उसले आफ्नै प्रशंसाको गीत गाउँछ।
    तर ऊ झूटो अंहकार गर्छ
    ऊ आफूले भनेको कुराहरू गर्न सक्तैन।
31 यसर्थ म मोआबका मानिसहरूको लागि विलाप गर्दछु,
    म सम्पूर्म मोआबको लागि रून्छु।
    म कीर-हेरेसका मानिसहरूका लागि शोक गर्छु।
32 म याजेरको मानिसहरूसित याजेरकै लागि शोक गर्छु।
    हे सिब्नाका दाखका बोट, बिगतमा तिम्रा दाखका बोटहरू
    चारैतिर फैलिंदै समुद्र पारी याजेर शहरसम्म फैलिएको थियो।
तर विनाशले तिनीहरूका फल र दाखहरू लग्यो।
33 मोआबको विस्तृत दाखबारीहरूबाट खुशी र आनन्द लगिएकोछ।
    मैले अङ्गुर निचोर्दा रस निक्लन बन्द गरिदिएँ।
यसर्थ आनन्दको स्वरले तिनीहरूले अङ्गुर निचोर्दैनन्।
    स्वर छ तर आनन्दको स्वर होइन।

34 “मानिसहरू हेशबोनदेखि एलाले अनि जहाजसम्म कराउँदैछन्। मानिसहरू विलाप गरी रहेका छन्। तिनीहरूको विलाप सोअर, होरोनैम, एग्लथ-शेलीशिया शहरहरूबाट सुनिन्छ। निम्रीमको पानी सुक्यो। 35 म मोआबलाई उच्च स्थानहरूमा तिनीहरूको देवताहरूलाई सुगन्धित धूप बाल्न र बलि चढाउनु रोक्छु।” परमप्रभुले यो कुरा भन्नुभयो।

36 “म मोआब र किरहरेसतका मानिसहरूको लागि उदास छु। मेरो हृदय बासुरीको शोक धुन जस्तै रून्छ किनभने तिनीहरूको जोगाड गरेको धन-सम्पति सबै नष्ट भयो। 37 प्रत्येक मानिसको केश खौरेको छ, प्रत्येकले दाह्री काटेको छ।[a] प्रत्येकको हातहरू काटिएको छ। प्रत्येकले आफ्ना कम्मरमा उदासीनताको धोती बेरेको छ। 38 घरका धुरीहरूमा तथा मोआब गल्लीहरूमा मरेर गएकाहरूको लागि मानिसहरू जता-ततै विलाप गरिरहेका छन्। समस्त भूमि नै उदासीनताले छाएको छ किनभने मोआबलाई मैले कसैलाई नचाहिने माटोको भाँडालाई झैं चकानाचूर पारेको छु।” परमप्रभुले यो कुरा भन्नुभयो।

39 “मोआब तितर-बितर भएका छन्। मानिसहरू विलाप गरिरहेका छन्। मोआब लाजले वरिपरि घुम्छ। मानिसहरूले मोआबको खिल्ली उडाइरहे छन् ऊ आफ्नो वरिपरि प्रत्येकका निम्ति डरको पात्र बनेको छ।”

40 परमप्रभु भन्नुहुन्छ, “हेर! एउटा चील आकाशबाट बेगहानेर आइररहेको छ।
    यसले आफ्नो पखेंटाहरू मोआब भरि फैलाई रहेछ।
41 शहरहरू कब्जा गरिनेछ,
    बलिया किल्लाहरू घेरामा पर्नेछन्।
त्यस समयमा मोआबका शक्तिशाली सिपाहीहरूको मुटु,
    प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।
42 मोआब देश नष्ट गराइनेछ।
    किनभने उसले सम्झन्थ्यो कि ऊ परमप्रभु भन्दा महान् छ।”

43 परमप्रभुले यी कुराहरू भन्नु हुन्छ:
    “मोआबका मानिसहरू हो! तिमीहरूको लागि डर, गहिरो खाडलहरू र पासोहरू छन्।
44 मानिसहरू डराउने छन् र भाग्ने छन्,
    तर तिनीहरू गहिरो खाडलहरूमा पर्नेछन्।
यदि तिनीहरू कसैले त्यहाँबाट उक्लिए भने पासोहरूमा फँस्नेछन्
    किनभने म मोआबमाथि दण्डको बर्ष ल्याउनेछु।”
परमप्रभुले यी कुराहरू भन्नुभयो।

45 “हेशबोनको छाँयामा शरणार्थीहरू नरहेको देखिन्छ।
    तिनीहरू रहेनन् कारण हेशबोनबाट आगो
र सिहोनबाट ज्वाला गएको छ।
    यसले मोआबको निधार र ती अहिले आनन्द
    मनाउँदै गर्नेहरूको शिरलाई काटेर
    नास पारिदिनेछ।
46 ए मोआब! तिम्रो निम्ति खराब हुनेछ!
    कमोशका मानिसहरू नष्ट भइरहेका छन्।
तिम्रा छोरा-छोरीहरूलाई,
    कैदी बनाएर लगिनेछ।
47 मोआबका मानिसहरू यसरि बधुवाईमा परेर टाढा लगिने छन्।
    तर समय आउनेछ, म मोआबबाट लागिएको फर्काउनेछु।”
    यो सन्देश परमप्रभुबाट थियो।

यसरिनै मोआबको सजाय पूर्ण हुनेछ।

Footnotes

  1. 48:37 प्रत्येक … काटेको छ मरेर गएकाहरूको लागि शोक प्रकट गर्न मानिसहरूले यसो गरेका हुन्।