Add parallel Print Page Options

येशू हाम्रा सहयोगी हुनुहुन्छ

मेरा प्रिय नानीहरू, म तिमीहरूलाई यो पत्र लेखिरहेकोछु, जसमा कि तिमीहरूले पाप गर्ने छैनौ। तर यदि कुनै व्यक्तिले पाप गर्छ भने, येशू ख्रीष्टले पिताको अघि हामीलाई बचाउनु हुनेछ। येशू धर्मी हुनुहुन्छ।

येशू हाम्रो पाप क्षमा गर्ने माध्यम हुनुहुन्छ अनि सम्पूर्ण संसारका मानिसहरूको पापहरू पनि क्षमा गराउनुहुन्छ।

यदि उहाँको आदेश पालन गर्यौं भने हामी निश्चित हुन्छौं कि हामीले परमेश्वरलाई चिन्यौं। एक व्यक्तिले भन्न सक्छ, “म परमेश्वरलाई चिन्छु।” तर यदि त्यस व्यक्तिले परमेश्वरका आदेशहरूको पालन गर्दैन भने त्यो मानिस झूटो हो, उसकोमा सत्य हुँदैन। तर एक व्यक्तिले परमेश्वरको शिक्षा पालन गर्छ तब त्यस व्यक्तिमा परमेश्वरको प्रेमको लक्ष्य रहेको हुन्छ। यसरी नै हामी जान्न सक्छौ कि हामी परमेश्वरको अनुशरण गरिरहेछौ। यदि कुनै व्यक्तिले ऊ परमेश्वरमा बाँच्न चाहन्छ भने ऊ येशू बाँचे झैं बाँच्नु पर्छ।

येशूले भन्नु भयो अरूलाई प्रेम गर

मेरा प्रिय मित्रहरू, म तिमीहरूको तिम्ति नयाँ आदेश लेखिरहेको छैन। यो त्यही आदेश हो जो तिमीहरूले शुरुदेखि पाएका थियौ। यो आदेश तिमीहरूले अघि नै सुनिसकेको शिक्षा हो। तर पनि म तिमीहरूको निम्ति यो आदेशलाई नयाँ आदेशको रुपमा लेख्दैछु। यो आदेश सत्य छ; अनि यसको सत्यता येशू अनि तिमीहरू स्वयंमा देख्न सक्छौ। अन्धकार हट्दैछ अनि सत्य ज्योति अघि देखि चम्किरहेछ।

एक व्यक्तिले भन्ला, “म प्रकाशमा छु।” तर यदि त्यो व्यक्तिले आफ्ना भाइहरूलाई घृणा गर्छ भने त्यो अझ अन्धकारमा छ। 10 जसले आफ्ना भाइ अनि बहिनीहरूलाई प्रेम गर्छ, त्यो प्रकाशमा बसेको हुन्छ अनि जसले पाप गराँउछ त्यस्तो त्यस व्यक्तिमा केही पनि हुँदैन। 11 तर मानिस जसले आफ्ना भाइहरूलाई घृणा गर्छ तब ऊ अन्धकारमा हुन्छ। त्यस मानिस अंन्धकारमा हुन्छ अनि त्यो व्यक्तिले आफ्नो गन्तव्य स्थान जान्दैन। किनभने अन्धकारले उसलाई अन्धा तुल्याएको हुन्छ।

12 प्रिय बालकहरू, म तिमीहरूलाई लेख्छु,
    किनभने तिमीहरूका पापहरू ख्रीष्टद्वारा क्षमा गरिएका छन्।
13 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु,
    किनभने तिमीहरू उहाँलाई चिन्दछौ, जो शुरुदेखि अस्तित्वमा हुनुहुन्छ।
युवा मानिसहरू, म तिमीहरूलाई लेख्दैछु
    किनभने तिमीहरूले दुष्टलाई परास्त गरेका छौ।
14 बालकहरू, म तिमीहरूलाई लेख्दैछु,
    किनभने तिमीहरू पितालाई चिन्दछौ।
पिताहरू, म तिमीहरूलाई लेख्दैछु,
    किनभने तिमीहरू उहाँलाई चिन्छौ जो शुरुदेखि अस्तित्वमा हुनुहुन्छ।
युवा मानिसहरू, म तिमीहरूलाई लेख्दैछु,
    किनभने तिमीहरू बलियो छौ,
अनि परमेश्वरको वचन तिमीहरूमा बस्छ,
    अनि तिमीहरूले दुष्टलाई परास्त गरेका छौ।

15 संसारलाई अथवा संसारमा भएका कुराहरूलाई प्रेम नगर। यदि कुनै व्यक्तिले संसारप्रति प्रेम गर्छ भने, पिताको प्रेम त्यस व्यक्तिमाथि हुँदैन। 16 संसारमा भएका नराम्रा कुराहरू यी हुन् हाम्रो पापपूर्ण शारीरिक अभिलाषा खुशी तुल्याउने कुराहरूको चाहाना गर्नु, हामीले देखेका पापपूर्ण वस्तुहरूको चाहाना गर्नु, हामीसित भएका कुराहरूप्रति घमण्ड गर्नु। तर ती कुराहरू पिताबाट आएका होइनन्। ती सबै कुराहरू संसारबाट आएका हुन्। 17 मानिसहरूको इच्छा अनुसारको चीजहरू लिएर संसार अघि बढिरहेकोछ। तर त्यो मानिस जो परमेश्वरले चाहेको गर्छ त्यो सधैँको निम्ति रहन्छ।

ख्रीष्टको शत्रुहरूलाई नपछ्याऊ

18 मेरा प्यारा बालकहरू, अन्त धेरै नजिक छ। तिमीहरूले सुनेका छौ कि ख्रीष्ट विरोधी आउँदैछ। अनि अहिले ख्रीष्टका अनेक शत्रुहरू यहाँ छन्। यसर्थ हामी जान्दछौ कि अन्त नजिक छ। 19 ख्रीष्टका शत्रुहरू हाम्रा समूहमा थिए। तर तिनीहरूले हामीलाई त्याग गरे। तिनीहरू वास्तवमा हामीसित थिएनन्, यदि तिनीहरू हाम्रो समूहमा रहेको भए हामीसित रहने थिए। तर तिनीहरूले छोडे। यसले यो दर्शाउँछ कि तिनीहरू कोही पनि वास्तवमा हामिसित थिएनन्।

20 तिमीहरूसित पवित्र “एक” ले प्रदान गर्नु भएको बरदान छ। यसर्थ तिमीहरू सबैले सत्य जान्दछौ। 21 मैले तिमीहरूलाई किन लेख्नु? के, मैले तिमीहरूलाई सत्य जान्दैनौं भनेर लेख्नु? अँहँ! म यो पत्र तिमीहरूले सत्य जान्दछौ भनेर लेख्छु। अनि तिमीहरू जान्दछौ कि कुनै पनि असत्य सत्यबाट आउँदैन।

22 यसर्थ, झूटो को हो? यो त्यो मानिस हो जसले येशू ख्रीष्ट छैनन् भन्छ अनि ऊ ख्रीष्टको शत्रु हो। उसले पिता र पुत्रलाई अस्वीकार गर्छ। 23 त्यो मानिस जसले पुत्रलाई अस्वीकार गर्छ, उसको पिता पनि छैन। तर त्यो मानिस जसले पुत्रलाई स्वीकार गर्छ उसका पिता पनि हुनुहुन्छ।

24 जुन तिमीहरूले शुरुदेखि सुन्दै आएको शिक्षा छ त्यसलाई दरिलोसित राख। यदि तिमीहरूले शुरुदेखि सुन्दै आएको शिक्षा तिमीहरूमा रहन्छ भने तिमीहरू पुत्र र पितामा रहनेछौ। 25 अनि यही नै हो जो पुत्रले हामीसित प्रतिज्ञा गरेको अनन्त जीवन।

26 म ती मानिसहरूको बारेमा यो पत्र लेखिरहेको छु, जो तिमीहरूलाई धोका दिने कोशिश गरिरहेका छन्। 27 ख्रीष्टले तिमीहरूलाई विशेष उपहार दिनु भएको छ। यो उपहार तिमीहरूसित अझ छ। यसर्थ तिमीहरूलाई कसैंबाट शिक्षा लिन आवश्यक पर्दैन। उनले तिमीहरूलाई दिएको उपहारले हरेक कुराको बारेमा सिकाउनु हुनेछ। यो उपहार सत्य छ, यो झूटो छैन। यसर्थ जस्तो त्यो उपहारले तिमीहरूलाई सिकाएको छ त्यसैमा अडी बस।

28 हे, मेरा प्यारा बालकहरू, उहाँमा बाँची रहौं। यदि हामीले यसो गर्यौ भने त्यसदिन जब ख्रीष्ट आउँनु हुन्छ हामी निर्भय रहन सक्छौं। अनि हामी उहाँको अघि लज्जित हुनु पर्दैन। 29 तिमीहरूलाई थाहा छ कि ख्रीष्ट धार्मिक हुनुहुन्छ। यसर्थ तिमीहरू जान्दछौ कि यदि सबै मानिसहरू जे धर्म हो त्यसलाई अनुशरण गर्छन, भने तिनीहरू परमेश्वरका बालकहरू हुन्।