Add parallel Print Page Options

योआबले दाऊदलाई गाली गर्छन्

19 मानिसहरूले योआबलाई खबर सुनाउँछन्। तिनीहरूले योआबलाई भन्छन्, “हेर्नुहोस्, राजा अब्शालोमको लागि दुःखी भएर रोइरहेकाछन्।” दाऊदका सेनाले त्यस दिन युद्ध जिते। तरै पनि मानिसहरूलाई उक्त दिन पटक्कै चैन भएन। कारण मानिसहरूले सुने, “राजा आफ्ना छोराको निम्ति साह्रै दुःखी छन्।”

मानिसहरू चुपचाप शहरमा भित्रिए। पराजित भएर भागेर आएका मानिसहरू जस्तै भए। राजाले अनुहार ढाकेका थिए। हे मेरो छोरा “अब्शालोम, मेरो छोरा भन्दै राजा जोड-जोडले रोइरहेका थिए।”

योआब राजाका घरमा आए। योआबले राजालाई भने, “तपाईंले आफ्ना सबै अधिकारीहरूको बेज्जत गर्दैहुनुहुन्छ। हेर्नुहोस्, ती अधिकारीहरूले आज तपाईंको प्राण बचाए। अनि तिनीहरूले तपाईंका छोरा छोरी, पत्नीहरू र नोकर्नीहरूलाई पनि बचाए। जसले तपाईंलाई घृणा गर्यो उसैलाई माया गर्नुहुन्छ। आज तपाईंले तपाईंका अधिकारीहरू र आफ्ना मानिसहरूलाई केही जस्तो नठानेको प्रमाण भयो। मलाई यस्तो लाग्दैछ यदि अब्शालोम चाहिं बाँचेर हामी सबै मारिएको भए तपाईं खुशी हुनुहुन्थ्यो। अब उठेर तपाईंका अधिकारहरूलाई उत्साहका केही शब्द भन्नुहोस्। म परमप्रभुको शपथ खाएर भन्छु यदि तपाईं झट्टै बाहिर निस्कनु भएन भने रात हुन अघि कसैले पनि तपाईंलाई सहयोग गर्ने छैन। तपाईंको बाल्यकाल देखिको विपत्तीहरूमा सबभन्दा नराम्रो विपत्ती यो हुनेछ।”

त्यसपछि राजा शहरको फाटकमा गए। त्यत्ति नै बेला राजा फाटकमा सवारी भए भनेर हल्ला चारैतरि फैलियो। यसैले सबै मानिसहरू राजालाई हेर्न आए। अब्शालोमका अनुयायी भएका सबै इस्राएलीहरू भागेर घर गए।

दाऊद फेरि राजा भए

इस्राएलका सबै कुल र परिवार समूहका मानिसहरूले तर्क-बितर्क गरे। तिनीहरूले भने, “राजा दाऊदले हामीलाई पलिश्ती र अन्य शत्रुहरूबाट बचाए। दाऊद अब्शालोमको अघिबाट भागे। 10 यसैले हामीले अब्शालोमको शासन छान्यौ। तर अहिले अब्शालोम मरे। उ युद्धमा मारिए। यसर्थ हामीले दाऊदलाइ फेरि राजा बनाउनु पर्छ।”

11 राजा दाऊदले पूजाहारीहरू सादोक र एबीयातारकहाँ खबर पठाए। दाऊदले, “यहूदाका अधिकारीहरूलाई भने। ‘किन तिमीहरू दाऊदलाई राजसिंहासनमा फेरि बसाउन किन अन्तिम परिवार समूह भयौ? हेर, इस्राएलीहरूले राजालाई फर्काएर ल्याउने बारेमा भने, अनि राजाको डेरामा पुगे। 12 तिमीहरू मेरो एउटै परिवार समूहका भाइहरू हौ। तिमीहरू मेरो आफ्नै परिवार छौ। तब किन तिमीहरू राजालाई फर्काएर ल्याउने अन्तिम परिवार भयौ?’ 13 अनि आमासालाई भन, ‘तिमी मेरो कुल समूहका हौ। यदि मैले तिमीलाई योआबको स्थानमा सेनाको कप्तान बनाइन भने परमेश्वरले मलाई दण्ड दिउन्।’”

14 दाऊदले यहूदावासीहरूको हृदयमा स्नेह पाए यसैले तिनीहरूले एउटै मानिसको रूपमा मत प्रकट गरे। यहूदाका मानिसहरूले राजालाई खबर पठाए। तिनीहरूले भने, “तपाईं र तपाईंका अधिकारीहरू आउनुहोस्।”

15 तब राजा दाऊद यर्दन नदी आए। यहूदाका मानिसहरू गिलगालमा राजालाई भेट्न आए र उहाँलाई यर्दन नदी पारि लगे।

शिमीले राजा दाऊदसँग क्षमा मागे

16 गेराका छोरा शिमी बिन्यामीन परिवार समूहका थिए। तिनी बहूरीममा बस्थे। शिमीलाई राजा दाऊद भेट्न हतार लाग्यो। शिमी यहूदाका मानिसहरूसँग आए। 17 झण्डै 1,000 मानिसहरू बिन्यामीन कुल समूहका शिमीसित आए। सीबा शाऊलका नोकर पनि आए। सीबाले 15 छोराहरू र 20 नोकरहरू पनि साथमा ल्याए। यी सबै मानिसहरू यर्दन नदी पुगी राजा दाऊदलाई हेर्न हतारीएका थिए।

18 ती मानिसहरू यर्दन नदी तरेर राजाका परिवार यहूदामा फिर्ता गराउन गए। मानिसहरूले राजाले जे चाहन्थे त्यही गरे। जब राजा नदी तर्दैथिए, गेराका छोरा शिमी तिनलाई भेट्न आए। 19 राजाको अघि भुइँतिर झुकेर शिमीले भने, “मेरा मालिक, मैले जे गरें त्यसलाई भूल नबुझिदिनहोस्। मेरा मालिक राजा, जब तपाईं यरूशलेम छोडेर जानुभयो मैले गरेका कु-कर्महरू नसम्झनुहोस्। 20 मलाई थाहा छ मैले पाप गरें। यही कारणले यूसुफ परिवारबाट तपाईंलाई भेट्ने म पहिलो व्यक्ति हुँ, मेरा मालिक राजा।”

21 तर सरूयाहका छोरा अबीशैले भने, “शिमी जसले परमप्रभुद्वारा चुनिएका राजालाई श्रापे अवश्यै मार्नु पर्छ।”

22 दाऊदले भने, “सरूयाहका छोरा म तिमीसित के गरौं? आज तिमी मेरो विरूद्धमा छौ। इस्राएलमा कसैलाई पनि मार्नु हुँदैन। आज म जान्दछु इस्राएलको राजा म हुँ।”

23 तब राजाले शिमीलाई भने, “तिमी मर्ने छैनौ।” राजाले शिमीलाई म तिमीलाई मार्दिन भनि वचन दिए।

मपीबोशेत दाऊदलाई भेट्न जान्छन्

24 शाऊलको नाति मपीबोशेत दाऊदलाई भेट्न आए। राजा गए पश्चात यरूशलेम फर्केर नआइन्जेल सम्म मपीबोशेतले खुट्टाको वास्ता गरेनन्। दाह्री जुँगा काटेनन् र लुगाफाटा धोएनन्। 25 जब मपीवोशेतले राजालाई यरूशलेममा भेटे राजाले उनलाई भने, “जब म यरूशलेमबाट जाँदै थिए तँ किन मसँग गइनस्?”

26 मपीबोशेतले जवाफ दिए, “मेरा मालिक राजा, मेरो नोकरले मलाई झुक्कायो। म लङ्गडो भएको हुनाले मैले मेरो नोकर सीबालाई भनें, ‘गधामा जीन लगाम कस म चढेर राजालाई भेट्न जान्छु।’ 27 तर मेरो नोकरले मलाई छक्कायो। तिनीहरूले मलाई धोका दिएर तपाईंलाई भेट्न गए अनि तिनले अघि मलाई गाली गरे। तर मेरो मालिक राजा तपाईं त परमेश्वरका दूत जस्तै हुनुहुन्छ तपाईंलाई जस्तो ठीक लाग्छ गर्नुहोस्। 28 तपाईंले मेरा बाजेका सबै सन्तानहरूलाई मार्न सक्नु हुन्थ्यो। तर तपाईंले त्यसो गर्नुभएन। तपाईंसँगै टेबलमाखान मलाई स्थान दिनुहुन्छ। यसैले तपाईंलाई गुनासो गर्ने मेरो अधिकारै छैन।”

29 राजाले मपीबोशेतलाई भने, “यो भन्दा ज्यादा समस्याहरू मलाई नभन। मैले आदेश दिएः सिबा र तिमीले जमिन भाग गर्नेछौ।”

30 मपीबोशेतले राजालाई भने, “मेरो मालिक राजा, तपाईं शान्तिसित घर फर्कनुभएको नै यथेष्ट छ। जमीन सीबाले नै लगोस्।”

दाऊदले बर्जितलाई डाके

31 गिलादीको बर्जितले रागलीमबाट आए। तिनी यर्दन नदीदेखि राजासँगै आए। उसले राजासितै नदी पार गर्न साथ दिए। 32 बर्जितले 80 बर्ष पुगेका साह्रै बृद्ध मानिस थिए। दाऊद महनैममा भएका बखत राजालाई खाना पिना र अन्य सामानहरू तिनैले जुटाइदिए। बर्जितले यो कार्य सजिलै गर्न सक्थे कारण तिनी साह्रै धनी थिए। 33 दाऊदले बर्जितलाई भने, “नदी तरेर मसित आऊ। यहीं यरूशलेममा मसित बस म ख्याल राख्ने छु।”

34 तर बर्जितले राजालाई भने, “तपाईंलाई थाहा छ म कति बर्ष पुगें? म तपाईंसित यरूशलेम जानसक्छु भनेर तपाईंलाई लाग्छ? 35 म 80 बर्षको मानिस हुँ। म राम्रो र नराम्रो छुट्याउन नसक्ने गरी बूढो भएँ। मलाई खान-पिनको स्वाद थाहा हुँदैन। लोग्ने मानिस र स्त्रीको स्वर छुट्याउन नसक्ने गरी बूढो भएँ। तपाईंले मेरो निम्ति किन दुःख उठाउन चाहानु हुन्छ? 36 तपाईंबाट मलाई कुनै कुरा चाहिएको छैन। म तपाईंसित यर्दन नदी पार गर्छु। 37 तर दया गरी मलाई फर्केर आउँन दिनुहोस्। तब म मेरो आफ्नै शहरमा मर्नेछु र मेरो आमा-बाबुको चिहानहरूको छेउमा गाडिनेछु। तर किमहाम तपाईंको सेवक हुनसक्छ; उसलाई तपाईंसँगै लग्नुहोस्, मेरो मालिक राजा। तपाईंको इच्छा अनुसार उसलाई प्रयोग गर्न सक्नु हुन्छ।”

38 राजाले जवाफ दिए, “किमहाम मसितै फर्कन्छ। तपाईंको खातिर म उप्रति दयालु बन्छु। तपाईंलाई जे पनि म गुण लगाउँछु।”

दाऊद घर फर्कन्छन्

39 राजाले बर्जितलाई म्वाईं खाए र आशीर्वाद दिए। अनि राजा र अरू मानिसहरू नदी पार गए। बरसीलै घर फर्किए।

40 राजाले गिलगालको निम्ति यर्दन नदी पार गरे। किमहाम तिनीसितै गए। यहूदाका सबै मानिसहरू र इस्राएलका आधा जनताले दाऊदलाई नदी पार गराए।

इस्राएलीहरूले यहूदाका मानिसहरूसँग तर्क गर्छन्

41 सबै इस्राएलीहरू राजा कहाँ आए र भने, “हाम्रो दाज्यू-भाइहरू यहूदाका मानिसहरूले तपाईंलाई तपाइका सबै मानिसहरूसितै यर्दन नदी पारि गुप्तमा लिएर भागे। किन?”

42 यहूदाका सबै मानिसहरूले इस्राएलीहरूलाई जवाफ दिए, “कारण राजा हाम्रा नजिकका नातेदार हुन्। यसको निम्ति तिमीहरू किन रिसाउँछौ? हामीले राजाको खर्चमा खाना खाएका छैनौं। राजाले हामीलाई कुनै उपहार पनि दिएका छैनन्।”

43 इस्राएलीहरूले जवाफ दिए, “दाऊदको राज्यको बाह्र भागमा दश भाग हामीसँग छ। यसैले तपाईंहरूको भन्दा बढ्ता अधिकार हाम्रो छ। तर तिमीहरूले हामीलाई ध्यान दिएनौं राजालाई ल्याउनु पर्छ भन्ने पहिलो मानिसहरू हामी नै थियौं।”

तर यहूदाका मानिसहरूले इस्राएलीहरूलाई नराम्रो जवाफ दिए। यहूदाका मानिसहरूको वचनहरू ती इस्राएलीहरूको भन्दा ज्यादा कठोर थियो।