Add parallel Print Page Options

येशूलाई क्रूसमा झुण्ड्याएर मारियो।

(मत्ती 27:32-44; मर्कूस 15:21-32; यूहन्ना 19:17-19)

26 सिपाहीहरूले येशूलाई मार्न टाढा लगेर गए। त्यसैबेला एउटा मानिस खेतबाट आफ्नो शहरतिर फर्किरहेको थियो। त्यसको नाम शिमोन थियो। शिमोन साइरेनीवासी थिए। सिपाहीहरूले शिमोनलाई येशूको पछि पछि क्रूस बोकेर हिँड्न बाध्य गराए।

27 धेरै मानिसहरू येशूको पछि लागे। कोही स्त्रीहरू दुःखी भएर विलाप गरिरहेका थिए। 28 तर येशूले फर्केर ती स्त्रीहरूलाई भन्नुभयो, “ए यरूशलेमका स्त्रीहरू हो, मेरो निम्ति नरोओ। तिमीहरू आफ्नै निम्ति र आफ्नो छोरा-छोरीको निम्ति विलाप गर! 29 समय त्यस्तो आइरहेकोछ कि मानिसहरूले भन्नेछन्, ‘धन्य हुन ती स्त्रीहरू जसले कहिल्यै पनि बालकहरूलाई दूध चुसाएन।’ 30 त्यसपछि मानिसहरूले पर्वतहरूलाई भन्नेछन्, ‘हामीमाथि खस्!’ अनि पहाडलाई भन्नेछन्, ‘हामीलाई छोप!’(A) 31 जब जीवन सुखी हुँदा यदि मानिसहरूले यस्तो कर्म गर्छन् भने, जब नराम्रो समय आएको बेला के हुने होला?”

32 दुइजना अरू अपराधीहरूलाई पनि उहाँसँग मार्न अघि लगाइएको थियो। 33 येशू र ती दुइ अपराधीहरूलाई “खप्परे” भन्ने ठाँउमा लगियो। सिपाहीहरूले येशूलाई काँटी ठोकेर क्रूसको दुइ छेउमा तिनीहरूले ती दुइ अपराधीहरूलाई पनि टाँगे। तिनीहरूले एकजनालाई येशूको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि राखे।

34 येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई माफ दिनुहोस् किनभने तिनीहरू के गरिरेहछन्, जान्दैन्।”

सिपाहीहरूले चिट्ठा उढाएर उनको लुगाहरू बाँडे। 35 मानिसहरू येशूलाई हेरेर उभिए। यहूदी प्रमुखहरू येशूलाई यसो भन्दै निन्दा गरे, “यदि ऊ नै परमेश्वरले छान्नु भएको, ख्रीष्ट हो भने, जसरी उसले अरूलाई बचायो उसले आफैंलाई बचाउने काम गरोस्?”

36 सिपाहीहरूले पनि येशूको खिल्ली उडाए। तिनीहरू येशूको नजीक गए अनि उहाँलाई दाखरसको सिर्का-दिए। 37 ती सिपाहीहरूले भने, “यदि तिमी यहूदीहरूको राजा हौ भने आफैंले आफैंलाई बचाउ।” 38 क्रूसको माथिल्लो भागमा यी शब्दहरू लेखिएको थिए “यो यहूदीहरूको राजा हो।”

39 एकजना अपराधीले येशूलाई अपमान गर्दै भन्यो, “के तपाईं ख्रीष्ट हुनुहुन्न? त्यसो हो भने आफूलाई बँचाउनु होस् अनि हामीलाई पनि बचाउनुहोस्।”

Read full chapter