Add parallel Print Page Options

येशूद्वारा रोगी केटो निको भयो

(मत्ती 17:14-20; लूका 9:37-43a)

14 त्यसपछि येशू, पत्रुस, याकूब अनि यूहन्ना अरू चेलाहरूसित सामिल भए। उनीहरूले धेरै मानिसहरू आफ्ना वरिपरि देखे। चेलाहरूसँग शास्त्रीहरूको बहस चलिरहेको थियो। 15 जब मानिसहरूले येशूलाई देखे, तिनीहरू अत्यन्त छक्क परे। उहाँको स्वागत गर्न तिनीहरू दौडिए।

16 येशूले प्रश्न गर्नुभयो, “शास्त्रीहरूसँग तिमीहरू के को बारेमा बहस गरिरहेका थियौ?”

17 भीडबाट एकजना मानिसले जवाफ दियो, “हे गुरूज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएको छु। मेरो छोरालाईं बोल्न धेरै नै वाधा दिइरहेको छ। 18 त्यो दुष्टात्माले मेरो छोरोलाई आक्रमण गर्छ अनि भूईँमा बजार्छ। मेरो छोरोले मुखबाट फींज निकाल्छ, दाह्र किट्छ, अनि कडा हुन्छ। मैले तपाईंको चेलाहरूलाई मेरो छोराबाट त्यस दुष्टात्मालाई हटाइ दिउन् भनी बिन्ती गरें, तर तिनीहरूले सकेनन्।”

19 येशूले उत्तर दिनुभयो, “तिमीहरूले विश्वास नै गर्दैनौ। तब कतिबेर म तिमीहरूसँग बस्नसक्छु? त्यो ठिटोलाई मकहाँ ल्याओ।”

20 त्यसपछि चेलाहरूले त्यो ठिटोलाई येशू कहाँ ल्याए। जब दुष्ट आत्माले येशूलाई देख्यो, त्यसैबेला त्यसले ठीटोलाई आक्रमण गर्यो। ठिटो भूईंमा लड्यो अनि छट्पटाउन लाग्यो। त्यसले मुखबाट फीँजहरू निकालिरहेको थियो।

21 येशूले त्यस ठिटोको बाबुलाई सोध्नु भयो, “कहिले देखि यो ठिटो पिडित छ?”

बाबूले जवाफ दिए, “बाल्याकाल देखि नै। 22 दुष्टात्माले घरि घरि त्यसलाई आगोमा अनि पानीमा पछारेर मार्न खोज्छ। यदि तपाईंले त्यसका निम्ति केही गर्नसक्नु हुन्छ भने कृपया हामीमाथि, दया गरी मद्दत गर्नुहोस्।”

23 येशूले ठिटोको बाबूलाई भन्नुभयो, “तिमीले भन्यौ, ‘यदि तपाईंले सक्नुहुन्छ भने?’ यदि कसैले विश्वास गर्यो भने हरेककुरा सम्भव हुन्छ।”

24 त्यस ठिटोको बाबु चाँहि यो सुनेर खूबै उत्तेजित भयो। त्यसले भन्यो, “म विश्वास गर्छु। मेरो विश्वस अझ बढाउनमा मलाई मद्दत गर्नुहोस्।”

25 येशूले देख्नु भयो कि धेरै मानिसहरू त्यहाँ के भइरहेको होला भनेर हेर्नलाई आइरहेका थिए। तब उहाँले दुष्टात्मालाई हकार्दै भन्नुभयो, “तँ दुष्टात्माले यो केटोलाई बहिरो अनि लाटो तुल्याएको छस्। म तँलाई आज्ञा गर्दछु, कि त्यो ठिटोबाट बाहिर निक्लिहाल अनि अब कहिले पनि भित्र नपस्।”

26 त्यो दुष्टात्मा करायो। ठिटोलाई तल भूईंमा पछार्यो। अनि त्यो उसको शरीरबाट बाहिर निस्कियो। ठिटोलाई मरेको जस्तै देखियो। मानिसहरूले भने, “त्यो त मर्यो।” 27 तर येशूले ठिटोको हात समात्नु भयो अनि त्यसलाई उठ्नलाई मद्दत गर्नुभयो।

28 त्यसपछि येशू घरतर्फ लाग्नुभयो। उहाँका चेलाहरू मात्र उहाँसँग थिए। तिनीहरूले भने, “हामीले त्यो दुष्टात्मालाई बाहिर निकाल्न नै सकेनौं, किन होला?”

29 येशूले भन्नुभयो, “त्यस प्रकारको दुष्टात्मालाई खाली प्रार्थना गरेर मात्र बाहिर निकाल्न सकिन्छ।”

Read full chapter